
अचेल बेरोजगार भएको, बेरोजगार भएकोले फुर्सत पनि नभएको, ईन्टरनेटमा पहुच पनि नभएको, र लेख्ने मसला पनि नफुरेकोले आफ्नै ब्लगबाट आफै अनुपस्थित थिए । माया गरेर साथीहरुले सम्झनुभएकोमा आभार व्यक्त गर्दै मनमा अत्ति भएर आज केही लेख्दैछ । आर्थिक कारणले गर्दा तपाईहरुको ब्लग पढन र कमेन्ट गर्न नसकेकोमा प्रचण्डजस्तै म पनि क्षमाप्रार्थी छु ।
मे डे वा मई दिवसमा म पनि खुलामन्च गाको थिए । माओवादीको आन्दोलनमा पनि आफु बसेको चोक बजार तिर चाख लिएर डुलेको थिए । खस्राफस्रा मैलाधैला र ह्वास्स गनाउने मान्छेहरुलाई मैले पनि नजिक बाट नियालेको थिए । सब्जी खान छाडिसकेको थिए, चिउरा भने ३ किलो जगेडामा राखेको थिए । सोच्दैथिए म पनि माओवादीमै खला रुपले लागम् कि क्या हो, वाईसिएल बनम् कि क्या हो ।
अचानक आन्दोलन् स्थगित् भो । त्यसपछि फिर्ता भो । भोलीपल्ट प्रचण्ड सुकिलामुकिला काठमाण्डुका भिजीलान्ते बुद्धिजीवि र मिडिया पत्रकारलाई गाली गर्दै कुर्ले । २,३ दिनपछि फेरि तिनै सुकिलामुकिलासंग अन्तर्कि्रया भो । प्रचन्ड्ले फेरि माफी मागे सुकिलामुकिलासंग पनि र काठमाण्डुका जनतासंग पनि ।
जस्ता जनता मैले आन्दोलनमा देखेको थिए तिनको दाजोमा शायद म पनि सुकिलामुकिला नै थिए । तर पनि सुकिलामुकिला बुदिजीवि भनेर जब आलोचना गरिन्छ मलाई त्यो ठिक लाग्छ । प्रचण्ड त डराए, मैले १ प्रतिशत बुद्धिजीवि लाई आक्रोश पोखेको बाकी ९९ प्रतिशत बुद्धिजीविलाई हैन् भने ।
प्रचण्डलाई नेता हुनुछ, फेरि प्रधानमन्त्री हुनुछ, तेसैले उनी गाली गरेर एक थरीलाई खुशी पार्छन्, अनि फेरि माफी मागेर अर्काथरीलाई । आफुलाई त नेता पनि हुन छैन् र यो भन्दा अप्ठेरो अब के नै होला र ? तेसैले ९९ प्रतिशत सुकिलामुकिला र योजनाकार अनि बुद्धिजीविप्रति मेरो आक्रोश कायमै छ ।
एकजना सुकिलीमुकिली बिशाखा छेत्री काठमाण्डु पोस्टमा लेख्छिन् प्रचन्डको भाषण टिभी मा सुनेपछि मैले आफ्नो पहिरन तर्फ हेरे । म पनि सुकिलो मुकिलो नै रहेछु । प्रचण्ड आफै पनि चिटिक्क थिए । अनि उनले आफ्नो गुनासो लेखिन् । मेरा बा पनि मजदुर वा माईला थिए । दुखकष्ट र अध्ययन् गरेर स्तर उकासे । अनि म सुकिलो मुकिलो भए । मेरो के गल्ती छ ? आदि आदि
सोही अंकमा दिपक थापाले उन्डेड प्राईड वा घाईते अहम् शिर्षक मा माओवादीले काठमाण्डु भित्र र बाहिरका भनेर आन्दोलन गर्नु गलत थियो, प्रचण्डले बुझनपर्छ कुनै पनि किसिमको अधिनायकवादलाई नेपाली जनताले रुचाउदैनन् आदि लेखे । मलाई दिपक थापाको लेखाई पनि शैलीगत रुपले राम्रो लाग्छ । उनको लेख पढनको अर्को कारण हो चित्रमा हेर्दा उनको नाक मेरो ब्राम्हण नाक भन्दा अलि चेप्टो जस्तो लाग्छ । शायद उनी थापा मगर हुन् तेसैले पनि उनको लेख चाख मानेर हेर्छु । दिपकजीलाई यति मात्र भनम् होला ज्याट् ज्याले दिपकजी ? कि मा ज्याले ?
बिशाखाजी लाई म के भन्छु भने तपाई सुकिलीमुकिली हुनमा गल्ती छैन् । तपाई राम्रो र सुकिलोमुकिलो नै हुनुस् । तर समस्या के भने जबसम्म हामी यो देशका अधिकांश खस्राफस्रा र गनाउने मान्छेहरुको वास्ता गर्दैनौ, तबसम्म तपाई हामी पनि यो देशमा शान्तिपुर्वक बस्न सक्ने छैनौं । तेसैले हामी सुकिलामुकिला ले गर्ने प्रत्येक कार्यले खस्राफस्राको हितमा छ कि छैन् भन्नेमा सचेत हुनैपर्छ ।
बुद्धिजीवि जसलाई भनिन्छ अघि पनि भने तिनमध्ये त ९९ प्रतिशतलाई म बुद्धिबेश्या भन्छ । कुनै नारीले पैसाको लागि शरीर बेच्छिन् भने त्यो उनको बाध्यता हो । पैसा, पद वा अवसरको लागि आफ्नो बुद्धिको दुरुपयोग वा चाकरीमा प्रयोग गर्नेलाई बुद्धिबेश्या नभनेर के भन्ने त ? प्रचण्डले माफी मागेकाहरुमध्ये पनि ९९ प्रतिशत बुद्धिबेश्या नै थिए भन्ने मेरो ठहर छ ।
आन्दोलनको एउटा फेजमा काठमाण्डका रैथाने वा नेवार जनताले साथ दिनेछन् भन्ने माओवादी आकलन गलत थियो भन्ने टिप्पणी चाहि सही हो । नेवार लगायत काठमाण्डुमा घर हुनेहरु माओवादीको आन्दोलन प्रति उदासिन हुनु वा प्रतिरोधको कारण यसपाली माओवादीले जातिय नभई वर्गीय नारा उचालेको हुनाले हो भन्ने मलाई लाग्छ । युरोपेली मापदण्ड सरहको जीवनस्तर भएको काठमाण्डुमा घर हुनेहरु के खान खस्राफस्रा को बर्गीय नारा पछि लाग्थे ?
काठमाण्डुका मान्छेले पैसा राम्ररी चिनेका छन्, जहासुकैबाट आओस् जसरीसुकै आओस् । भ्रष्टाचार, कालाबजारी, र बुद्धिवेश्यागिरी गरेर कुस्त नकमाईकन कसले काठमाण्डुका ज्यापुका धानखेत र बगर करोडौ अरबौमा किनीदियोस् ? तेसमाथि, प्रचण्ड सरकार भएको बेलामा भैसी काटेर भोज खाने बजेट कटौती गर्यो भनेर आन्दोलन गर्ने रैथाने नेवार जनताले वर्गीय नारालाई साथ देलान् भन्ने आशा गर्नु नै मुर्खता हो भन्छु म पनि ।
तर पनि माओवादीको यो आन्दोलनलाई म सफल भएको मान्दछु । सुदुर गाउका हजारौ खस्राफस्राहरुको काठमाण्डु तीर्थयात्राको रहर पुरा भएको छ । पहिलो पटक यति व्यापक स्तरमा काठमाण्डु भर्सेज मोफसल र बौद्धिक पेशागत मर्यादा दायित्व मा बहस शुरु भएको छ । नया पुस्ताका प्राय बेफिक्री रहने नवधनाढ्य बिशाखा जस्ता सुकिलीमुकिली पनि आत्मसमीक्षा गर्न थालेका छन् । काठमाण्डुवासी हो जाग, नत्र खस्राफस्राहरुले अब नाकाबन्दी गर्नेछन् ।
प्रचण्डहरुको समस्या पनि मैले बुझे । खुला राजनीतिमा आईसकेको हुनाले उनीहरु फेरि जंगल जान सक्दैनन् । बुढेसकाल पनि लाग्यो । अनि सहरमा क्रान्तिकारी भाषण पनि नगरेर के गरुन् त ? तर काठमाण्डूका सुकिलामुकिला अनि बुद्धिबेश्याहरुले बुझुन् जतिसुकै बुढेसकाल, थकाई, वा मात लागेपनि एक निश्चित बिन्दु भन्दा पछाडि प्रचण्डहरुले ब्याकट्र्याक गर्न वा पछि हटन् सक्ने छैनन् । अब खस्राफुस्राले कसैलाई पनि छोडनेवाला छैनन् । मलाई भने अब रहर लागेर आएको छ । काठमाण्डुको निर्दयी चाला देखेर वाक्क लागेर आईसक्यो । मै पो जंगलतिर छिर्नपर्यो कि कसो ?