Tuesday, February 23, 2010

गरिब निमुखाले माओबादी नबने के गर्ने त ?

अचेल बत्ती र व्यक्तिगत कारणले नेट हेर्ने र व्लग गर्ने मेसो मिलिराखेको छैन् । फेरि आ व्लग गरेर के नै लछारपाटो लाग्छ भनेर पनि जागर चलेको छैन् । तैपनि चित्त नबुझेका कुरा कतै त रेकर्ड होस् भन्ने लाग्छ । केही दिन अघि यो बर्षकै अन्तिम बिहे लगन रेछ । सामाजिकता भनेर म पनि एकजना आफन्तको बिहेमा गएको थिए । त्यस दिन धेरै बिहे भएकोले गाडी पाउन मुस्किल भो । धेरै गाडी बिहेकै लागि रिजर्भ गरिएको रेछ । सडकमा घन्टौ जाम । बसमा ठेलमठेल । जीन्दगीको जात्रा

बिहेमा रमाईलो भको देख्दा मलाई पनि रमाईलो लाग्छ । तर फेरि हेर्छु, यो रमाईलो को मुल्य कत्तिको महगो छ । काठमाडौंको जीवनस्तर केही युरोपेली देशको समान छ रे । तर काठमाडौंमै पनि यस्ता हर्षोल्लास पछाडि कति पीडा लुकेका छन् < मानसिक रोग, मुटु रोग, दुव्र्यसन्, र अपराध किन बढिरहेको छ <

नेपाल भन्ने देशमा एकजना मानिस छन् । उनी सरकारी अधिकृत नै थिए । उनी संगैका उनी जस्तै र उनी भन्दा पनि पछिका धेरै कर्मचारीले काठमाण्डुमा राम्रै घर जग्गा र स्टाट्स बनाए । तर उनी कहिल्यै काठमाडौ बस्न सकेनन् । जागीर खाएर काठमाण्डु बस्न सकिन्न भन्थे । मोफसलमै जीवन बिताए । घर त बनाए तर गाउमै । छोराछोरी लाई काठमाण्डुमा पढन पनि पठाउन सकेनन् । बोलीचालीको भाषामा भन्ने हो भने उनले पनि पैसा कमाउन सकेनन् वा जानेनन् ।

तर परिवार त उनको पनि थियो । शिक्षित भएकाले सबै जानेसुनेका नै थिए । दाजुभाई कै छोराछोरी काठमाण्डु बोर्डिंग मा पढथे । उनका छोराछोरीले पनि रहर गरे । तर उनले सकेनन् । अरु पनि धेरै चाहना थिए होलान् जो पुरा भएनन् । फलस्वरुप बाबुआमा दुबै बिरामी परे । छोराछोरी काठमाण्डु आए केही पढिएला र केही बनिएला भनेर । तर उनीहरु निराश छन् ।

म उनकी एउटी छोरीको बिहेमा गएको थिए । पेन्सनमा आएको सारा पैसा काठमाण्डुमै भएका अर्का आफन्तको घरबाट छोरीको बिहेमा खर्चे । मलाई पनि भोज खान बोलाए । म जान त गए तर मेरो मनमा कुरा खेलिरह्यो यो कस्तो भोज अनि कस्तो भतेर हो < आवादी को हो कि बर्बादीको ? अब अर्को छोरीको बिहे कसरी गर्लान् <

एउटा छोरी को बिहे मा दाईजो बाहेक भोज भतेर र तडक भडक मै पनि काठमाण्डु जस्तो ठाउमा पनि लाखौं खर्चिईन्छ । धेरै पढेलेखेका र बुझक्की मान्छेहरु काठमाण्डुमा बस्छन् अरे । मोफसलका मान्छेहरुले काठमाण्डुको जीवनशैलीको सिको गर्छन् । कतिसम्म भने समाजमा आ आफ्नो ठाउमा आदर्णीय र प्रेरक व्यक्तित्व बनाएका व्यापारी मीन बहादुर गुरुंग र प्रधान सेनापति छत्रमान् गुरुंग ले पनि आफ्नो छोरा छोरीको बिहेमा निकै तडक भडक र सडक जाम गरेछन् । त्यसै दिन, जुन दिन म पनि गएको थिए ।

यी त भए तैबिसेक सक्नेहरुकै कुरा । अब कसैले मलाई भनिदियोस कि गरीव बाउआमाले छोरीको कसरी बिहे गर्ने < किनभने मलाई यो प्रश्न एकजना मेरा परिचित जसका छोरी बिहे गर्नु छ उनले सोधे । उनी पनि काठमाण्डुको मान्यता अनुसार असफल व्यक्ति हुन् । किनभने उनले छोरी त जन्माए तर बिहे गर्न सकिराखेका छैनन् । किनभने अचेल दाईजो त लिदैनौ, तर चलन अनुसार गर्नुपर्छ भनिन्छ ।

को छ यसमा जिम्मेवार < छोरी त सबका छन् । के ति सम्पन्नता र चलनको नाममा गरिने भोज भतेर र रवाफ प्रदर्शन सामाजिक अपराध होईन् < सम्मानित स्थानमा रहेका व्यक्तिहरुबाट भएको भ्रष्टाचार हैन् जो आफ्नो छोराछोरी को बिहेमा दाईजो लेनदेन र तडकभड्क गर्छन्, र गरीब बाउआमाले पुर्याउनै नसक्ने सामजिक मान्यता स्थापित गरिदिन्छन् < के त्यो राज्य प्रणाली अपराधी हैन जसले ठुलाबडा र सम्पन्न मार्फत भईरहेको सामाजीक अपराध नियन्त्रण गर्न सक्दैन् <

म कुनै आदर्श खोकिरहेको छैन् । यो मेरो पनि समस्या हो । व्यक्तिगत रुपमा सबैले ठीक हो, तर सिस्टम नै यस्तै छ भन्छन् । कसैमा पनि शासन प्रणाली र चलनमा सुधार ल्याउने साहस र चाहना देखिदैन् । ईमान्दारीपुर्वक काम गर्नेहरुलाई पैसा कमाउन सकेन् असफल भयो भन्ने सामाजिक मान्यता बनेको छ । भ्रष्टाचार गरेर तडक भडक गर्ने चलन सम्मानित र सफल मानिन्छ ।

मेरो प्रश्न छ, सिस्टम र चलनमा मा परिवर्तन माओवादीले बाहेक कस्ले गर्न सक्छ ?

Monday, February 1, 2010

माओवादीले सिक्नुपर्ने कुरा

मैले एकजना आदर गर्ने कलेजको गुरुलाई केही दिन अघि भेटे उहाँलाई यसकारणले पनि आदर गर्थे कि उहाँले धेरै वर्ष पहिले अमेरिकाको स्तरीय मानिने युनिभरसीटीबाट पि एच डी गरेर पनि अमेरिकाको अवसर छोडेर देशको लागि केही गर्नुपर्छ भनेर नेपाल फर्किनुभको थियो देशको छात्रवृत्ति पचाएर विदेशमै हराउने देशको ढुकुटीबाट सरकारी संस्थाहरुमा फुल टाईमको तलब खाएर पार्ट टाईम पनि समय दिन नचाहने प्रवृत्ति देशमा अझै पनि अध्ययन मिहिनेत भन्दा पनि फाईफुट्टी लाउनेकै हाई हाई चोरेर घोकेर बर्षौ पछि बल्लतल्ल थर्ड डिभिजन आएका व्याचलर, मास्टर्स, पिएचडी गर्नेहरु समेत मै हँु विव्दान भन्ने घमण्ड गर्छन् तेसैले पनि काम प्रतिको सरको दक्षता, लगनशीलता समर्पण देखेर तेसै सन्मान गर्न मन लाग्थ्यो

तेसो सर अमेरिकाबाट पढेर आएकोले होला व्यवसायिक हुनुपर्छ पैसा पनि सकेको कमाउनुपर्छ भन्नुहुन्छ तेसैले होला, उहाँ टि यु को क्लास बाहेक अरुतिर पनि क्लास लिनुहुन्छ, अरु सम्बन्धित पेशागत काम पनि गर्नहुन्छ हामीलाई क्लासमा ओभर एम्बिसस् नहुन भन्नुहुन्थ्यो, तर छोराछोरीलाई भने पढन अमेरिका नै पठाउनुभको तर सरले व्यवस्थाको कमजोरी वा सिस्टम को लुपहोलबाट फाईदा उठाएर जसरी पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्तिको खुला विरोध गर्नुहुन्थ्यो आफ्नो सीप दक्षतालाई सकेसम्म उपयोग गरेर ईमान्दारीपुर्वक नै पैसा कमाउनुपर्छ भन्नेमा सरको जोड थियो

पेशाकर्मी उच्च शिक्षित मानिसहरु आफुप्रति सम्मान खोज्छन् हुन कसैले पनि ठुलो पल्टिन खोज्नु उचित नहोला, तर राम्रो कामको वा दक्षताको कदर होस भन्ने चाहना मानवीय हो जुन सबैमा हुन्छ अस्ति जब मैले सरलाई भेटे, सर अति निराश हुनुहुन्थ्यो सरले भन्नुभो, देशको अवस्था झन् बिग्रदै बिसौं बर्ष देशको लागि भनेर काम गरे, तर अब काम गर्ने वातावरण छैन् हरेक क्षेत्रमा ओभरपोलिटिसाईजेशन भएको सोच्दैछु कि अमेरिकातिरै लागुँ यस्तो कुरा निराशा अचेल धेरै दक्ष व्यक्तिहरुले भनिरहेको सुन्छु

जुनसुकै पार्टी आए पनि जुनसुकै व्यवस्था आएपनि देशलाई दक्ष जनशक्तिको आवश्यकता हुन्छ अचेल जसलाई हामी योग्य वा प्रोफेशनल भन्दछौ, धेरैजसोले देश छोडेर जाने कुरा गरेका हुन्छन् सबै पेशाकर्मी उच्च शिक्षित मानिसहरु भ्रष्ट नै छन् भन्ने पनि होईन् पेशाकर्मीहरुको गुनासो हुन्छ गणतन्त्र हैन, देशमा भीड्तन्त्र आयो हरेक कुरामा अति राजनीतिकरण भयो देश जनताको लागि काम गर्ने भन्दा पनि राजनीतिक पार्टीको अनुकुल हुनुपर्ने अवस्था आयो राजनीतिक दल नेताहरुलाई खुशी पारेकै भरमा भ्रष्ट असक्षम व्यक्तिहरु हाकिम भए, सक्षम ईमान्दर जनशक्तिलाई कजाए हिजो यस्तै कुरा गरेर काग्रेस एमालेलाई सराप्दै धेरै दक्ष जनशक्ति बिदेशिए अचेल पेशाकर्मी वा प्रोफेसशनलहरुको गुनासो हुन्छ कि माओवादीका भातृ संगठनले अनावश्यक दबाब दिन्छन्

माओवादीले के बुझ्नुपर्छ भन्ने जनमतले उसलाई शक्तिशाली बनाएको हो, त्यसैले आफु भन्दा भिन्न विचार राख्ने जनमतको पनि उसले सम्मान गर्नुपर्छ अहिले सबैभन्दा शक्तिशाली जनादेश प्राप्त पार्टी माओवादीलाई पाखा लाएर कांग्रेस एमाले पन्चायतका पनि भ्रष्टतम् व्यक्तिहरुले समेत सत्ता कब्जा गर्न कसरी सफल भएका छन् ? कतिपय माओवादीको सामजिक परिवर्तनका कतिपय एजेन्डाहरुसंग सैद्धान्तिक रुपले सहमत् हुनेहरु पनि कार्यकर्ताले अभद्र व्यवहार गरे भनेर चित्त दुखाएका छन् यसमा माओवादीहरु पनि चनाखो हुनुपर्छ माओवादीले आफ्ना कार्यकर्तालाई जनसम्पर्क कसरी राम्रो बनाउने वा पब्लिक रिलेशन को बारेमा संवेदनशील विनम्र हुन पनि तालिम दिनुपर्छ

Wednesday, January 27, 2010

नजन्मेको छोरोसित

(प्यारोडी कविता)

ए छाप्रो पनि नबनेको तर आधुनिक

टवाईलेट्मा सधै तुहिने छोरो

मलाई कत्ति पनि लाज छैन कि

म तेरो बाबु हुने छैन्

किनभने तैले गरि खालास् भन्ने

मलाई कत्ति विश्वास छैन्

आफ्नै काम र माम को ठेगान छैन्

तँलाई म भात् कसरी खुवाउँला ?

ड्याड, साथीहरुसंग कन्सर्ट जानुपर्यो

वन थाउ चाहियो भन्लास्

स्वभाविक ममता दबाएर

मैले पनि भन्नुपर्ने होला

चुलो नबल्ने याद गर पाजी

हो गृहस्थी बन्ने मेरो हकै छैन

तेसैले भूलले पनि बिहे गरेर

दुख भोग्ने पुतला म सिर्जिन चाहन्न

आफुलाई तेरो जन्मदाता

दावा गर्न समर्थ ठान्दिनँ

के गरुँ बाबु मलाई पनि रहर नभएको त हैन्

पारिवारिक सुखमा गरिबी बिर्सने

तर म मृगतृष्णा देख्न चाहन्न

यौवनले उत्ताउलो नै बनाएपनि

म भविष्यसम्म नियाल्न सक्छु

युवक उमंग जति नाचे पनि

भुलवश पनि

विवाह बन्धनमा जकडिने छैन्

बाबु आई एम सरी भनेर

तँलाई म खिस्रिक पार्न सक्दिन्

न त तेरो खुशीको लागि

कसैलाई रुवाउन सक्नेछु

मेरो नजन्मेका छोरा

तँ नजन्मेको संसार

अझ देश

अझै सुन्दर र सजिलो भइसकेको छैन

धेरै बलिदानी भइसकेपनि

एकाध स्वार्थीहरुको दाउपेचले

सभ्यता फुल्न सकेको छैन्

तेसैले ए नजन्मेको मेरो छोरा

तैले पढेर विव्दान बन्ने

जानेर ठुलो बन्ने

अलि प्रतिभाशालीको हकदार बन्ने

कुनै सम्भावना म देख्दिन्

मबाट कुनै सुखको सास

तैले फेर्न पाउने छैनस्

न त तेरो बर्बाद जिन्दगीले

संसारलाई कुनै जिन्दगी दिनेछ

मेरो प्यारो नजन्मेको छोरा

मेरो मृत्युपछि

अग्नि संस्कारकै निम्ति मात्र

तँलाई म जन्माउन चाहन्न्

बरु मेरो लासलाई गिद्ध स्यालले नै लुछुन्

(गिद्ध त भए पो लुछ्लान् ;))

मलाई त डर छ

संसारको अप्ठेरो भस्मीभूत त के गर्लास् ?

तँपनि मेरो लाशमा दागबत्ती दिन कुर्लास्

बल्ल ठिस् बुढो मर्यो भन्दै

खुशीसाथ तर्पण श्राद्धको पाखण्ड गर्लास्

मेरो प्यारो नजन्मेको छोरा

वंश अनि परम्परा चलाउन मात्र

तँलाई म जन्माउनै चाहन्न्

मलाई डर् छ

कतै जनतालाई सहीद बनाउँदै

दुई चार जनाको पाउ मलेर

दिनरात डान्स र बीयर मुत्ने पो होस् कि ?

डयाड्ले क्या झुर लाईफ दियो भन्दै

छिमेकको छाप्रोमा आगो सल्काएर

तँ पनि दीपावली गर्ने पो होस कि ?

ए मेरो नजन्मेको प्यारो छोरा

मलाई धेरै आशंकाहरु छन्

दारिद्रंय यन्त्र ध्वस्त पार्ने

कर्मठ योद्धाको नयाँ सस्करण

तँ बन्लास् के ?

*हृदयचन्दसिंह प्रधान को कविता छोरोसित को प्यारोडी कविता बनाउन खोजिएको हो । मुल कविता एकल यात्री जी को ब्लगमा पहिलो पटक पढन पाईयो । कतिपय शव्दावली र विचार मुल सिर्जनाबाटै लिईएको छ । एकल यात्री मा आभार । हृदयचन्द्रलाई पछि भेटेपछि आभार गरुँला ।