Sunday, June 7, 2009

काठमाण्डु ट्राफिक वाइक केटी पत्रकार अनि पुजीवादी सुंगुरहरु




भन्दै थिए नि यो बाइक भन्ने चीज चलाउने कुरै होइन... हिजो चक्रपथतिर डुल्दै थिए...पुलीस चौकी अगाडि भीड र छ... ढलको पाइप बोक्ने एउटा हेभी ट्रक र झराम झुरुम तोडफोड गरिएको स्वयंभू यातायातको बस पनि थियो...भीडमा छिरे...

टकको पछाडि जमेको रगतका टाटाहरु थिए... एकजना प्रत्यक्ष्यदर्शी एकदम आवेशमा बोलीरहेका थिए... आवेशमा हुनु स्वभाविक नै थियो...उनकै आखा अगाडि दुई जना मानिस बिभत्स मरेका थिए... 

गोपीकृष्णबाट सिनेमा हेरेर बाइकमा फर्कदै थिएं... अलि पर हेर्छु त स्वयम्भू यातायातको वस हुतिएर आयो... बाइक अगाडि ट्रक थियो...ट्रकको अचानो मा बसले बाइक र मानिस कुच्यायो... बाइक चलाउनेको निधार ट्रकमा ठोक्कीयो...उनले रगत देखाउदै भने... हो यो रगत छ नि...यो बाइक चलाउनेको हो अनि पछाडिको मान्छे नि ? उ त ठहरै...स्पट डेथ...घाटीनै चुडालिएको थियो... छालाले मात्रै जोडेर तुर्लुगं टाउको झुण्डियो... टाउको भुईमा झरेको भए खुरुरु कुद्थ्यो... उनी भन्दै थिए...मान्छेको टाउको छिनालिएर भुईमा झरेपछि खुरुरु कुद्छ... 

अनि कहाका थिए नि बाइकवालाहरु ? नारान थान का...भरे आन्दोलन हुन्छ... बसको डाइभर खलासी दुबै भागे...बस तोडफोड भो जलाउन लाग्दा पुलिस आयो सुन्नेलाई त के छ र...एउटा सनसनीखेज घटना न भो... म पनि एकछिन बसेर हिडे काठमाण्डुको टाफिक...अनि बाइक... 

यो वाइक त खत्तम चीज हो अरुलाई ठोक्काउन पनि अगाडि, आफै कुच्चिन पनि अगाडि सानो ठाउमा बेस्करी कुदाउन मिल्छ...छुस्स केहीले छोयो भने गयो लाइफ पेट्रोल खाएर वातावरण पनि विगार्छ अनि जहा पायो त्यही छिराएर टयाप र झ.याप भएर जथाभावी फुटपाथमा पनि कुदाएर...आफपनि हैरान...वाउआमालाई पनि हैरान...अनि सडक हिडनेलाई पनि हैरान  

अनि यस्तो जाठो बाइक चढने फेसन अरे... अचेल त्यो साप्ताहिक अनि अरु पत्रिका मा आउने मोडलहरुको हब्बी पनि बाइकमा घुम्ने अरे केटासंग चपक्क टासिएर अनि बाटो हिडनेलाई चाक देखाउदा कम्ती मजा आउदैन तिनेरुलाई अनि विज्ञापन पनि कस्तो ?

ठग कम्पनीको जाठा बाइक किन्नुस...अब लोडसेडिंगमा पनि दीपावली गर्नुस अरे
अनि आफलाई श्रमजीवि भन्न रुचाउने पत्रकारलाई पनि राम्रै टिप्स हुन्छ क्यारे बाइकको, मोबाइलको, ल्यापटपको मूल्य सस्तो भाछ, झट्टै किन्नुस भनेर लेख्छन...  

नेपालीहरुको पनि यस्तो फोस्रो रवाफ अनि पुजीवादी जाल मा फसेर साधन प्रतिको कामुकता महामारी(fetish) लागेको देख्दा चाहि भन्न मन लागिहाल्छ...बुर्जुवाको आडम्बरी फेसन...सबै काम त बेठीक गरेको छैन नि माओवादीले...ठीक गर्यो मिस नेपाल रोकेर...पुजीवादी सुंगुरहरु

11 comments:

  1. कहाँबाट मिस नेपालको कुरा आयो फेरि ??

    कुरा त एकदम सहि छ । तर मिस नेपालले चैँ बाइक चढ्न कसरी प्रोत्साहित गर्यो खै ?

    ReplyDelete
  2. मिस नेपाल रोकेर ठिक गर्‍यो रे ! बुझिएन है !

    अनि जहाँसम्म दुर्घटना को कुरा छ, यसमा प्राय: कहिले पनि सानो गाडि को दोष देखिँदैन । गल्ति बाइक वाला कै भएपनि, कुटाइ खाने मा बसका डाइभर खलाँसि पर्छन् । तिब्र गति जिवन क्षति भन्ने थाहा हुँदाहुँदै वाइकवाला ले आँखा नदेखेपछि, दुर्घटनाहरु सामान्य नै बन्छन् । तर त्यसपछि को स्थिति भने निकै डरलाग्दो हुन्छ । भयंकर तोडफोड र आगजनि । आज त बोडिङ का साना साना बच्चा चढेको गाडि मा नि ढुंगा मुढा गरेछन्, त्यहिँ । हेर त मानवतता ले सिमा नाघेको !

    ReplyDelete
  3. प्रबेश अनी आकर ब्रो, मिस नेपाल को बिरोध त मैले पनि गरीहाले..अब ब्रो हरुको किन भन्ने प्रश्न को जवाफ दिन पो गाह्रो भो.. अझै पनि सोची नै राछु.. किन किन मलाई लाग्छ मिस नेपाल गलत बिज्ञापनहरुमा उपयोग भैरहेको छ.. साथी हरु ले किन गर्ने भन्ने अलिकता हिन्ट दिनु भये मलाई पनि जवाफ फुर्थ्यो कि

    ReplyDelete
  4. तपाईँको यो छुट्टै शैलीको आफ्नोपन बोकेको ब्लगमा दुईचार फन्का लगाएको छु एकलकाटे जी, घटना र सन्दर्भलाई अनौपचारिक शैलीमा बखान्ने तपाईँको टेक्निक मजेदार छ । अलि उटपटाङ पनि छ है :)

    मोटरसाइकल दुर्घटनाको यस टिपोट पनि गम्भीर खाले लाग्यो । फेसनेवल चिज र सुविधाप्रति जति आकर्षनको लहर बढ्दैछ, त्यसको प्रतिक्रियात्मक फल पनि नकारात्मक देखिन थालेको छ समाजमा ।

    अनि मिस नेपाल बन्द रोकेर माओवादीले ठीक गर्‍यो माओवादीले भन्नुभएको छ, कसरी राम्रो भयो भन्ने प्रवेश भाइ र आकार जीको कुरामा फेरि उहाँहरूसँगै 'मिस नेपाल किन गर्ने' भन्ने विषयमा सोधेर त्यसपछि किन नगर्ने भनेर आफूले जवाफ दिने मनसुवा राख्‍नुभएको छ, यो पनि मलाई रमाइलो लाग्यो है ।

    Happy Blogging !

    ReplyDelete
  5. खै के भन्ने के ... कुनै कुनै शब्द अलि बढी नै कडा भए नि बर्णन गर्ने शैली चाहिं रमाईलो छ है |

    प्रजातन्त्र भन्छन विचार आआफ्नो हुन सक्छ, मलाई चाहिं मिस नेपाल हुनु, बाईक कुदाउनु, फेसनमा रम्नु अनि व्यापार बृद्दीको लागि आकर्षक बिज्ञापन गर्नु आफैंमा नराम्रो हो जस्तो चाहिं लाग्दैन है...

    ReplyDelete
  6. त्यो मिस नेपालहरु बाइकमा पछाडि चडेर मोडिलिङ गर्ने सुन्दरीहरु जनाउने ठाउँ भएर होला नि।।।।कुरो चाँही सही हो है

    ReplyDelete
  7. धाइबा अनि मिलन ब्रो, तपाईंहरुको सुझाब मानेर मैले बोल्ने सोमत मा निकै सुधार गरिसकेको छु..अचेल मुख छाडन धेरै कम गरिसके तैपनि अति भ्एपछि त झोक चल्छ नि हौ,... हेहेहे

    दुर्जेय ब्रो ले पनि भनिहल्नुभो मिस् नेपाल लाई कसरी प्रयोग गरिन्छ बिग्यापनहरुमा ? मिस् नेपालको बाक्लो लामो कालो कपाल बनाउन फलनो तेल लाउनुस्..मिस् नेपालको जस्तो गोरो छाला बनाउन चिलानो मलम लाउनुस् ट्रेन्डी देखिन बाइक चाडनुस् नत्र पाखे हुनुस्...कोला पेप्सी बियर जीन्सको पछाडि चाकमा राख्नुस् च्वाँक देखुनुस्..

    अनि मिस् नेपाल त एउटा मात्रै हुन्छन.. तपाईंको अरु प्रतिभाको कुनै अर्थ छैन किनभने तपाईं अर्की भन्दा राम्री हुनुहुन्न ट्रेन्डी हुनुहुन्न सेक्सी हुनुहुन्न.. बाकी सबै मिस् नेपाल नभएको हिनतामा जीवन बिताउनुस्..सास् बहु सिरिअल हेर्नुस्.. मलम घस्नुस्..बस्नुस्

    ReplyDelete
  8. "पूँजीवाद भनेको खत्तम कुरा हो, ब्यापारी भनेका ठगहरु मात्र हुन, मिस नेपाल रोकेर ठीक गर्‍यो" यहाँ भन्दा सन्कुचित सोच र अज्ञानताको उदाहरण मैले आज सम्म देखेको थियिन।।। साथीलाई अर्थशास्त्र को अलिकती भएनी ज्ञान भाई दिएको भये एस्तो सोच अबस्य ब्यक्त हुँदैन थियो होल । प्रत्एक ब्यक्ती ले अरुको समान हक हनन नगरेसम्म आफुखुसी गर्न पौनु पर्छ तर कुनै कुरा गर्न चाहने ले तेस्को परिनाम पनि आँफैले भागन तयार रहनु पर्छ । कसैले बाईक चढछ भने चढोस् तर भोली दुर्घटना म परे उसैको मृत्‍यु हुन्छ, मोडेल हरुले बाईक चढेको देख्दैमा तेही बाईक चै किन किन्नु पर्‍यो ? एदी कोइ मुर्ख ले किन्छ भने किनोस अरुलाई के को टाउको दु:खाइ ? कोइ युबती मिस नेपाल मा भाग लिन्छे भने लेयोस तिम्रो पैसा त खर्च भाको छैन नि ।। उस्को जिन्दगी हो तिमी को हौ र उस्को लागि निर्णय गरिदिने । बक्लो मुलयम केस भनेर बिज्ञापन गर्छ भने गाह्रोस त्यो समान नकिने त भाई हाल्यो नि । बिज्ञापन गर्ने उस्को स्वतन्त्रत किन्ने नकिन्ने हाम्रो स्वतन्त्रता । ठग कम्पनी हो भनेर थाहा छ भने तेस्को बाईक नकिन्ने । तेस्ले आएर बल जफ्ती गरेको छ र ? आफ्नो केही श्रीजनसिल काम छैन , अफुमा पैसा कमौन सक्ने तागत छैन अनी अरुको रिस गरेर बस्ने ? सारा संसार ले जानी सक्यो पूँजीवाद नै समाज लाई अघी बढाउने सबै भन्दा राम्रो प्रकृया हो भनेर । अमेरिका , बेलायत , अष्ट्रेलिया, न्यू जिल्यान्ड , एस्तोनिया, चिली, दक्षिण कोरिया , हङकङ, मलेसिया , १९७८ पछी को चाइना , १९९४ पछी को भारत ।।।अरु क् उदाहरण चैहियो? थाहा छ उतर कोरिया , क्युबा म मान्छे खान नपाएर मरी राख्या छन । क्युब म ईन्टरनेट चलाऊनु अपराध हो .

    ReplyDelete
  9. टाँसो पढ्न रमाईलो लाग्यो। छलफल पनि धेरै भईसकेछ। यो पूँजीवाद आदिको बारेमा Surath Giri का कुरामा मेरो सहमति जनाउन चाहन्छु। विकसित देशमा अहिले अस्तित्वमा रहेको पूँजीवाद मार्क्सले ऊ बेला देखेको पूँजीवादभन्दा धेरै फरक भईसकेको छ। म चीनमा पाँच वर्ष बसें र अहिेले जापानमा सातौं वर्षमा छु। साम्यवादी भनिने चीनमा भन्दा पूँजीवादी भनिने जापानमा मजदूर-किसानको हक-अधिकार कता हो कता धेरै छ। साम्यवादी समाजमा वर्ग हुँदैन भन्छन् साम्यवादीहरु तर त्यहाँजस्तो गहिरो वर्ग विभाजन काहिँ पनि हुँदैन। एकातिर कम्युनिष्ट पार्टीका नेताहरु-माथिल्ला तहका कार्यकर्ताहरु हुन्छन् जसको सुख-सुविधा र मोजमस्तीको लागि राज्य पूरै लागेको हुन्छ, नामचाहिँ मजदूर-किसानको लिएर। अर्कोतिर बाँकी सबै जनताको हैसियत भेडा-बाख्राको भन्दा पनि तल हुन्छ। सचेत समाजमा सबैले यो कुरा बुझिसके, जापान र दक्षिण कोरीया जस्ता देशमा साम्यवादका सबैभन्दा ठूला विरोधी भनेकै मजदूर-किसान हुन्। हाम्रो देशमा साम्यवादको आकर्षण अझै छ, वास्तविकता धेरै मान्छेलाई थाह हुनै बाँकी छ।

    अब कुरो माओवादीले 'मिस नेपाल' गर्न नदिएको। यो पनि माओवादीले मूतको न्यानो लिएको मात्र हो। देशभरि मिस 'यो' र मिस 'त्यो' नाममा कथित सौन्दर्य प्रतियोगिताहरु भईरहेकै छन्। माओवादीले के बुझ्नु जरुरी छ भने उसलाई मन परेपनि नपरेपनि यस्ता कुरा रोकिने वाला छैनन्। समाजमा शैक्षिक चेतना बढ्यो भने यस्ता कुराको प्रभाव त्यसै कम हुन्छ। हो, राज्य आफैं यस्ता कुरामा लगानी गर्न तम्सन्छ भने त्यसको कडा विरोध हुनुपर्छ तर कसैलाई यस्ता कार्यक्रम गराउने सोख छ र पैसा हाल्छ अनि कसैलाई भाग लिने रहर छ भने रोक्ने किन? यो उनीहरुको ब्यक्तिगत अधिकारभित्रको कुरो हो।

    ReplyDelete
  10. सुरथ जी, तपाईको व्लग हेरे, तपाइकै ब्लगवाट रिसेन्ट कमेन्ट को विजिट राख्ने ठेगाना पाए... तपाइले आफुलाई लिबर्टेरियन भन्नु हदो रहेछ, डिक्सनरीमा मिनींग हेरेको् त म त महा लिबर्टेरिएन पो रहेछ...हेहेहे
    अनि बसन्त जीे संग चीन र जापानमा लामो समय अध्ययन गरेको अनुभव रहेछ..लोभ लागेर पो आयो..

    सुरथ अनि बसन्त ब्रो, तपाईहरुलाई कमनिज्म मन पर्दो रहेनछ,मलाई पनि मन पर्दैन...तर तपाईहरुलाई क्यापीटलिज्म मन पर्दोरहेछ मलाई फिटिक्कै मन पर्दैन...मलाई लाग्दैन तपाईले उल्लेख गर्न भएको कुनै पनि देश पुर्ण रुपले क्यापिटलिस्ट छन..खासगरी आफनो आन्तरिक बजारमा..तिनले भिन्नाभिन्नै समयमा आफनो देशको आवश्यकता अनुसार आर्थिक नीतिहरुमा परिमार्जन गरिरहेका सुनिन्छ..जस्तो कि अहिले भनिन्छ नि खुला बजारमा हस्तक्षेप गरिनु हन्न भनेर अर्ति दिने पुजीवादको मक्का अमेरिकामा सरकारले बजार हस्तक्षेप गर्न परेको छ..खुला वजार भने पनि अमेरिकाले घरेलु उत्पादन बचाउन युरोप र अन्य देशवाट स्टील अनि कृषि जन्य वस्तमा हेभी कर लगाउदो रहेछ..व्यापारको नाममा सामाजिक न्यायलाई उपेक्षा गर्न तपाईहरुले भन्नुभएका कुन पजीवादी देशले अनुमति दिएको छ ?

    स्रोत र साधनको चरम दोहन गरेर यो पृथ्वीले नै धान्नै नसक्ने विकास को अमेरिकी मोडल कमनिष्टहरुले पनि पछ्याए जुन गलत छ भन्ने वि पी कोइरालाले पनि एउटा अन्तर्वातामा भनेको पढेको थिए...मलाई पनि त्यस्तै लाग्छ...जुन अवस्था र प्रयोजनका खातिर मिस नेपालको आयोजना हुने गर्छ मलाई त खुशी लाग्थ्यो यदि काग्रेस एमालेले बिरोध गरिदिएको भए...तर अपसाृेच, यसमा पनि माओवादीले नै बाजी मार्यो...हाम्रो देशको आवश्यकता के हो ? देश अनुकुलको आर्थिक क्रियाकलाप नगरेर बहुराष्टिय कम्पनीका उत्पादन खपत गरिदिएर हुन्छ हाम्रो आर्थिक उन्नति ? अनि तपाई ले नै भन्नु भएका देशहरुमा नै पनि मुनाफाखोर मल्टीनाशनल कम्पनीहरुले उपभोक्ताको चरम मनोवैज्ञानिक तथा आर्थिक शोपण गरेकोमा ह्रिसक जनविरोध अनि नांगा जुलुस समेत भएको के त ?

    ReplyDelete
  11. एकलकाँटेजी, पूर्ण रुपमा मुनाफाखोर र मानवीय संवेदनाहीन पूँजीवादको समर्थन गर्ने मेरो आशय होईन। म पूँजीवादले जन्माउने प्रतिस्पर्धा र त्यो प्रतिस्पर्धाले जन्माउने नयाँ विकास, आविष्कार र प्रविधिलाईनै मानव सभ्यता अगाडि बढ्ने ईन्धन ठान्छु। मलाई के लाग्छ भने पूँजीवादलेमात्रै हामीलाई भविष्यमा पनि एडिसन र बिल गेट्स दिनेछ। साम्यवादले किन दिनेछैन भने त्यहाँ 'प्रतिष्पर्धा'लाई पहिल्यै मारिसकिएको हुन्छ।

    अब कुरो आऊँछ, पूँजीवादलाई मानवीय रुप दिने। यो काम सरकारको हो। पूँजीवाद भनेपनि, जे भनेपनि एउटा निश्चित बिन्दूमा पुगेपछि कुनै न कुनै नियन्त्रणको आवश्यकता हुन्छ नै, नत्र हामीलाई सरकार चाहिने थिएन। विकसित देशहरुमा सरकारले एउटा निष्पक्ष रेफ्रीको भूमिका निर्वाह गरे काफी हुनसक्छ भने हाम्रो जस्तो अविकसित देशमा भने पूरै अर्थतन्त्र बजारको भरमा मात्रै नछोडिदिएर केहि मिश्रित रुप दिनुपर्छ। खासमा विकसित र अहिले द्रुत विकास भईरहेका देशहरुको अनुभव हेर्दा पनि यस्तै देखिन्छ, शुरुमा मिश्रित अर्थतन्त्र र विकसित भईसक्दा पूर्ण पूँजीवाद।

    हुनत म यस्ता कुरामा राम्रो ज्ञान भएको मान्छे होईन तर पनि मलाई के लाग्छ पूँजीवाद अहिलेसम्म टिक्नु र भविष्यमा पनि यसको कुनै विकल्प नदेखिनुको एउटै कारण यसको परीवर्तनशीलता हो। मार्क्सको समय, अथवा अझ पछाडि जाँदा यूरोपमा औद्योगिक क्रान्ति शुरु भएबाट अहिलेसम्म हेर्दा पूँजीवादले आफूलाई निरन्तर परीवर्तन गर्दै ल्याएको छ र साम्यवादजस्ता विरोधी विचारधाराका राम्रा गुणहरुलाई समेत टिप्दै र आपूमा समाहित गर्दै आएको छ। उत्तरी यूरोपका नर्वे, फिनल्याण्ड आदि पनि पूँजीवादीनै मानिन्छन् तर तिनले अबलम्वन गरेको 'लोककल्याणकारी राज्य' को नीति अमेरिका वा वेलायत भन्दा फरक देखिन्छ। जापानको अर्थ-नीति अमेरकाभन्दा धेरै कुरामा फरक छ। मूल कुरो, कसरी आफ्नो देशको सम्पन्न बनाउने र त्यो सम्पन्नता जोगाईराख्ने भन्ने हो।

    मिस नेपालको कुरो मलाई पनि अर्थ न बर्थको लाग्छ र यो हाम्रो प्राथमिकता होईन। तर कसैले गर्न खोज्छ, कसैले भाग लिन खोज्छ भने रोक्ने हामी को? यस्ता कुरामा सरकार/राज्य आफैं लाग्नु हुँदैन। सरकारले यस्ता कुरालाई निरुत्साहित पार्न चेतनामूलक वैचारिक अभियानसम्म चलाउन सक्छ, त्यहाँ भन्दा बढी महत्व नदिएकै राम्रो। विरोधीहरुले पनि कार्यक्रम हुने हलमा गएर मारमुङ्ग्री गर्नुभन्दा स्कूल-कलेजहरुका केटीहरुसम्म आफ्ना धारणा सञ्चार-माध्यम वा अरु कुनै सहाराले लगेको राम्रो। विकृति मास्ने हो भने जरा पो काट्नुपर्छ, हाँगा काटेर के हुन्छ? रुख जिऊँदै छउञ्जेल हाँगाहरु त पलाईरहन्छन् नि!

    माओवादीले मिस नेपाल रोकेपनि देशभरि, शहर-शहरमा हुने अनगिन्ती कथित 'ब्यूटी-कन्टेष्ट'लाई केहि गरेको छैन। त्यसैले यस्ता कुरामा हा-हू गरेर माओवादीले 'मूतको न्यानो' भन्दा बढी केहि पनि लिएको छैन।

    ReplyDelete