Tuesday, June 29, 2010

म पुरुष, तिनी महिला, अनि माओवादी बिचलन

अफिस टाईम् थियो । सानो ग्यास माईक्रो बस पछिल्तिर एक हुल मानिस दगुरे । भीड् छल्दै फुर्तिसाथ मैले एउटा सिट कब्जा गरे । धेरैजसो तराई मूलका कामदार एक हुल नै चढे । ढोका छेउको सानो ठाउमा टुसुक्क बस्न एक महिला संघर्षरत् थिईन् । मेरो सिट हो यो भन्दै अप्ठेरो सिट्मा अप्ठेरो साथ बसिन् । अघिल्तिरको सिटमा आरामसाथ बसेर म उनलाई हेरिरहेको थिए । केही सोचेको भने थिईन् । तैपनि आफ्नो गतिबिधि निरिक्षण गरेको देखेर आत्मसचेत भईन् । अनुहारमा जीवन संघर्षले रेखाचित्र कोर्न थालिसकेका रछन् । केही चिन्तित पनि देखिन्थिन्। अप्ठेरो मान्दै भनिन् के गर्ने भाई जति उमेर बढ्यो उति पैसा चाहिदो रछ । एसो पैसा जोगाउ भन्ने लोभले ट्याक्सी चढन् मन लाग्दैन् । तेसैले जसोतसो बस्नै पर्यो ।

म भलादमी पल्टिए । ठिकै छ नि । तपाईको त अधिकार नै छ, सिटमा बस्ने । ३३ प्रतिशत महिला कोटा हुन्छ, तपाई एकजना मात्र महिला हुनुहुन्छ । उनले भनिन्, तेसो भनेर मात्र के हुन्थ्यो, सबैले बस्नै पर्यो । म थप सुधारवादी पल्टिए आफु भन्दा कम्जोर कोही छन् भने छाडिदिनु पनि पर्छ, हैन भने आफ्नो अधिकार दावी गर्नुपर्छ । उनी आश्वस्त हुदै भनिन्, त्यो त हो, कसैको वचनले मात्र पनि धेरै फरक पार्छ । सबैले तेसरी सोचिदिदैनन् । भन्छन् नि डाक्टरको बचनले मात्र पनि धेरै फरक पार्छ । म नि हौसिदै भने, हो नि डाक्टरको राम्रो बचन मात्रै ले पनि आधा रोग निको हुन्छ तेसैले त भनिएको हो । सोधे, तपाई डाक्टर हो, उनी फेरि अप्ठेरोसाथ हास्दै भनिन्, हो ।

उत्तरआधुनिक सामाजिक पहिचानमा एउटै मानिसको बहुपरिचय वा मल्टिपल आईडेन्टीटी रोचक छलफलको बिषय हो । जस्तो कि उक्त महिलाको मल्टिपल आईडेन्टीटी बिश्लेषण गर्ने हो भने,उनी डाक्टर भएकीले अत्यन्त सम्मानित पेशाकर्मी हुन् । हस्पीटलमा घाटीमा बेरिएको स्टेथोस्कोप सेतो एप्रोन अनि पछि लाग्ने बिरामीको हुलले उनको बिशिष्टता उजागर हुन्छ । तर एउटी महिला भएकीले उनी समग्रमा सिमान्तिकृत गरिएको जनसंख्याको आधा भागलाई समेत प्रतिनीधित्व गर्छिन् । तेसैले सार्वजनिक गाडीमा एउटा सिट को लागि एउटा तरकारीवाला, कबाडीवाला वा म जस्तो साहुको अफिसमा काम गर्ने कामदार सामु उनी नीरिह बन्छिन् । तेतिखेर उनलाई आफु डाक्टर हुनुको गौरव भन्दा पनि महिला हुनुको विवशता महसुस हुन्छ । उनी बाहुनी वा छेत्रीनी नानी, छोरी, बुहारी हुन् भने प्रत्येक महिना हुने प्राकृतिक चक्र भन्ने नारी शरीरको रिप्रोडक्टिभ थ्योरी फेल खान्छ, उनको शरीर नर्कको व्दार हो, उनी नछुनी बिटुली हुन्छिन् । एकल महिला हुन् भने त उनी डाक्टर भए पनि शुभ कार्यको लागि अलच्छिनी पनि हुन् । उनी मधेशी महिला हुन् भने डाक्टर नै भए पनि काठमाण्डुमा उनी तेहरो सीमान्तिकृत वा टिप्ली मार्जिनलाईज्ड जीवन बिताउदी हुन् ।

यस्तै कुरा सोच्दै म अफिस पुग्छु । त्यस अफिसमा एकजना केटी सहकर्मी कामदारमा भर्ना भएकी छन् । उनको र मेरो काम लगभग उस्तै छ । तर म उनको भन्दा दोब्बर तलब दावी गर्छु । साहुले मलाई अन्तरवार्तामै भनेका थिए, खासमा हाम्रो प्रिफ्रेरेन्स केटी कामदार नै राख्ने थियो । किनभने केटीहरु कम तलबमा सिन्सियर्ली र लामो समय काम गर्छन् । तर तपाई अनुभवी भएकोले केटा मान्छे नै भए पनि लिन चाहन्छौ । भन्नुस्, के तपाई यति तलबमा काम गर्नुहुन्छ ?

मेरो लेखाईमा जतिसुकै नारीवादी टोन देखिए पनि म पुरुष म पुरुष. . . तेसैले लागेको कुरा नढाटी भनिदिन्छु । शायद केटी भएकीले नै होला मेरी सहकर्मी फेसनमा चलाख तर काममा अलि लोसी छिन् । शायद लोसी हुन को कारण पनि उनको जेन्डर नै होला । उनको दाजुभाई बोर्डिंग स्कुल र सहरमा पढेका होलान् । उनले गाउमै घासदाउरा गर्दै दुई तिन पल्ट मा एस एल सी पास गरेकि होलिन् । पछि सहरमा बस्ने दाईले राम्रो आम्दानी गर्न थाले पछि बैनी सहरमा अलिदिन पढेर स्मार्ट हुन्छे, बिहे गर्न सजिलो हुन्छ भनेर बोलाएका होलान् । भान्साका काम गर्ने र लुगा धोईदिने कुरा त आईमाई जात को प्राकृतिक काम नै भो ।

तिनै लोसी सहकर्मी केटीकी दिदिको यही असारमा बिहे रछ । अचेल दिनहु मोबाईलमा सामान किन्न बजार जाने भनेर दाईसंग कुरा गरेको सुन्छु । मानिस र तिनका क्रियाकलापमा मेरो जिज्ञाशा अलि भिन्नै खालको हुन्छ । पहिलो जागीर भएकोले काम सिक्ने क्रममा उनको प्रश्नको उत्तर दिन मलाई झर्को लाग्छ । तर आज मैले पनि उनलाई प्रश्न सोधिदिए, दिदिको बिहेमा कति खर्च लाग्छ होला ? मेरो प्रश्नले त उनलाई हासो पो उठेछ । सोचेर भनिन, हाम्रो ईष्टिमेटमा चौध लाख लाग्छ होला । के गर्ने, त्यो भन्दा कममा गर्नै सकिएन् ।

म एक अनुभवी र दक्ष मानिएको व्यक्तिले दसौ वर्ष काम गरेको तलब एक मुष्ट जोगाउदा बल्ल चौध लाख पुग्ने रछ । उनको तलब त बीसौं बर्ष जम्मा एक मुष्ट जम्मा गरेपछि बल्ल चौध लाख पुग्ने रछ । म उनलाई आफ्नो क्रान्तिकारी हिसाब सुनाउछु । अब भने उनी गम्भीर हुन्छिन् । भन्छिन् उठिबास लाग्छ, अब छोरीको बिहे गर्न गाह्रो छ । म भन्छु, यसरी कसरी हुन्छ ? मनमा तस्वीरहरु दगुर्छन्, आफ्नो जातिले भोग्दै आएको अन्यायी परम्परा बिरुद्ध मुक्ति को लागि माओवादी बन्दुक बोकेर मार्च पास गरेका थुप्रै साहसी महिलाहरुको भाषण, नाचगान, र राके जुलुशमा अवलोकन गर्दा मेरो पनि रगत उम्लेर आएको हुन्छ ।

फेरि यो चौध लाख, फेरि यो छाउपडी, फेरि यो छुवाछुत, फेरि यो बेच बिखन..? सुन्दछु, अचेल माओवादी आफै कन्फुजनमा छ रे । प्रचन्ड वा बाबुराम ब्राम्हणहरु प्रधानमन्त्री हुनुलाई नै जनता को सर्वोच्चता मान्नुपर्छ अरे । के समाज परिवर्तनका सबै एजेण्डा तुहिएकै हुन् ? के साच्चै नै राजनीतिक जोडघटाउ र लुटेर खाने लठैतहरुको जमात मै सिमित हुने क्रमतर्फ माओवादी लागेको हो त ? कि मातृकाले भने जस्तै प्रचण्डहरु थाकेर अन्तत पुष्प कमल दाहाल भएका हुन् ?

के गर्दैछन् जम्बो संविधान सभामा विश्वकै नमुना महिला सहभागिता भएको गौरवशाली क्रान्तिकारी पार्टीका महिला, पुरुष, र तेश्रो लिंगी जनप्रतिनीधिहरु ?

2 comments:

  1. लेकालीJuly 6, 2010 at 3:30 PM

    लौ लौ ब्रो तस्लिमा नसरिन नेपालमा पनि जन्माउनु पर्‍यो है । ताली बजाउने सुर गरौला हामी पनि ।

    ReplyDelete
  2. हावाब्रोका पुराना पुराना घतलाग्दा टासोहरु सम्झेर यसो हेर्न आ, भेटघाट नभाको त जुग पो भै सकेछ है ।

    ReplyDelete