Friday, December 25, 2009

नेपालमा जातिय राजनीति

माओवादीको गणराज्य घोषणा मा धेरैले बिचार नगरेको एउटा रमाईलो प्रसंग देखिएको छ । बादल र देव गुरुंग बाहेक धेरैजसो गणराज्य घोषणा गर्ने माओवादी नेताहरु पनि बाहुन छेत्री अनि घोषणाको चर्को बिरोध गर्ने सरकारी र अन्य पक्ष पनि धेरैजसो बाहुन छेत्री । घोषणा ठीक हो भनेर दावी गर्ने पनि बाहुन छेत्री अनि घोषणा धोखा हो भनेर आरोप लाउने पनि बाहुन छेत्री । बिचरा जनजाति नेताहरुलाई त म अलमल मा परेको देख्छु के गर्ने के बोल्ने भनेर । समर्थन गरौ त जातीयता को राजनीति गरेको आरोप लाग्ने बिरोध गरौ त जनजाति भएर पनि जनजाति गणराज्य बिरोधी भएको आरोप लाग्ने । खासगरी एउटै मान्छे प्रचण्ड नेवा पनि प्रचण्ड शेर्पा पनि भनेर कतिपय सत्तापक्षीय बाहुन छेत्री मुर्मुरिए ।

अब म आफै बाहुन भएकोले म पनि बाहुनकै खेदो खनम् होला । बाहुनको बिरोधी बाहुन नै हुन्छ अरे । जनजातिको खेदो खनम् भने सानैदेखि ख्याल ख्याल मा चार औंला भन्ने उखानले त्रस्त छु म । तेसमाथि अब त नेपालमा जहाँ भएपनि कुनै न कुनै जातिय राज्य मै भईन्छ । तेसैले अब जनजातिलाई जिस्काउनै पो भएन बा । तर मलाई चाहिं खासै मात्रै हैन् केही पनि फरक नपर्ला । आफु त नेवा राज्यमा पनि उनेरुको अनि देशकै राजधानीमा बसिन्छ । अब कान्तिपुर नेपालको मात्र हैन विश्वकै कस्मोपोलिटन सहर मध्ये एक भएकोले नो प्रोब्लम् । नेवाहरुको संस्कृति त अहिले पनि नेपालको पहिचान रहेकै छ । अब त्यै नगरपालिका र अन्य ठाउँमा नेवारी भाषा प्रचलन मा आउला । तेसले मलाई केही फरक पर्दैन् ।

हुन त प्रचण्ड बाबुराम आदि आफुलाई बाहुन नभनेर कमुनिष्ट जातका हौ भन्छन् । मलाई चाहि एक किसिमले सन्तोष के भो भने लौ अब कमनिष्ट थर भएका बाहुनले नै फिर्ता गरे पनि मैले अब मेरा जनजाति र मधेशी साथीहरुलाई भन्न त पाए बाहुनले खत्तम पार्यो भन्थ्यौ लौ अब आफ्नो राज्य कसरी चलाउने चलाउ । बाहुनले गरेको भएन भने फेरि आफै घोषणा गर्ने भए नि गर । अनि कतिपय अल्पमत जनजाति र मधेशी दलहरुले पनि बिरोध गरेका छन् । त्यो पनि मिलाउ ।

मेरो एउटा मिल्ने साथी छ किर्तिपुर पांगा को । महर्जन ज्यापु हो । म भर्खर काठमाण्डौ आएको बेला थियो । अब सबैभन्दा समाबेशी ठाउँ त काठमाण्डौको सरकारी क्याम्पस नै हो । मेरो मिल्ने साथीहरुको समावेशी ग्रुपमा एक एक जना तामांग, शेर्पा, मधेशी, म बाहुन, अनि त्यै नेवार साथी । मेरो त्यो ज्यापु साथीले मलाई जहिले पनि भन्थ्यो मलाई तँ बि पी कोईराला जस्तै लाग्छ । तेरो नाक पनि बि पी को जस्तै चुच्चो छ । अब तेतिखेर पोल्टिस को कुरामा तेति चाख थिएन मलाई । बि पी कै बिचार पनि खासै थाहा थिएन । तैपनि चर्चित मान्छेसंग तुलना गर्देकोमा मलाई खुशी नै लाग्थ्यो ।

एकदिन त्यो ज्यापु साथीले मलाई उसको घरतिर घुमाउन लग्यो । किर्तिपुरको पांगा । काठमाडौमा त तेस्तो घरहरु नै छैनन् अब । उसको घर र गल्ली पनि भक्तपुर को जस्तो ठाउँ रैछ । सानो भर्यांग उक्लेर बिचको उसको कोठामा गईयो । उसका घरका मान्छे जति सबै खेतमा गका रछन् । उसले मलाई के खान्छस छोईला खान्छस् भनेर सोध्यो । म तेतिखेर भर्खर काठमाडौ पसेको सोझो बाहुन नै थिए । धेरैपछि मात्र छोईला र भैसीको म म खाएर जात फालेको थिए । तेतिखेर सम्म जात फालेको थिईन । तर मलाई उसको घरमा बनाएको छयांग चाहि चाख्न मन लाग्यो । उसले एक गिलास मात्रै दियो । धेरै नखा तँ बाहुन होस् तैले पचाउन सक्दैनस् छयांग भन्यो ।

अनि उसले मलाई गाउँ र खेततिर डुलायो । एउटा डाडोतिर शायद त्यो चन्द्रागिरी हुनुपर्छ देखाउदै भन्यो हेर तिमेरु खे हरु तेतैबाट आएको होस् । तेतिखेर मलाई नेपालको हिस्ट्री पनि खासै थाहा थिएन् । उसले भन्यो तेरो पृथ्वी नारायण शाह तेतै बाट आएको हो । मैले भने पृथ्वी नारायण शाह मेरो कोही पनि होईन् । म गोर्खाली पनि होईन् । उसले मानेन् । मेरो लागि सबै नेवारहरु उस्तै भए जस्तै उसको लागि पनि पृथ्वी नारायण शाह, बि पी कोईराला र म उस्तै लाग्दो रहेछ । उसले भन्यो जे होस् तिमेरु सबैलाई हामी खे भन्छौ ।

प्रचण्डले नेवा राज्य जिन्दावाद भनेर घोषणा गर्नको राजनीतिक कारण र परिणाम जेसुकै होला मैले भने त्यो मेरो ज्यापु साथीलाई सम्झे । रोचक कुरा के छ भने प्रचण्ड यदि बाहुन नै हुन भने पनि उनी म बाहुनको प्रतिनीधि होईनन् । उनी अब किर्तिपुरकै नेवाहरुको प्रतिनीधि हुन पुगे । अब म मेरो किर्तिपुरे ज्यापु साथीलाई भेटे भने भन्छु तिर्मेको राज्य फिर्ता भो अब तिमेरु जे मन लाग्छ गर । मैले भन्नै परेन् । प्रचण्डले गरेको मात्रै मिलेन भनेर भोली उनेरु आफै नेवा राज्य घोषणा गर्दैछन् । ठिकै छ, अब आफ्नो कुरा आफै सुल्झाउ । मैले टेन्सन लिनै परेन् ।

बरु मलाई त बाहुन भएको झनै पो फाईदा होला जस्तो छ है गाठें । अब त मलाई नेपालमा जहाँ गए पनि अल्पमतको बिशेषाधिकार अनि विशेष सुबिधा पनि चाहिन्छ । मलाई यो बाहुन छेत्रीको पनि राज्य चाहियो भन्नेहरुसंग चित्त बुझेको छैन् । मलाई चाहिएन राज्य साज्य । बरु नेवा राज्यको भावी मुख्य मन्त्री संग मेरो अल्पमतको बिशेषाधिकार र सुबिधाको माग अहिले नै तयार छ । अरु केही नभए बाग्मती किनारमै भए पनि चार आना नै भए पनि घडेरी चाहियो मलाई अब । म पनि अब हुकुम्बासी, लु जा त ।

सुन्दछु, बाग्मती लगायत नदी किनारका जग्गा हडपेर अनि खोलाको पानी र पहाडको ढिस्को मुनिको जग्गा धितोमा राखेर बैक्रको पैसाले ठुला ठुला बिजनेस कम्पलेक्स बनाउने ठुला हुकुम्बासीलाई नेपाल सरकार ले केही गर्दैन... सरकार नै ढलाईदिने क्षमता छ ठुला हुकुम्बासी को । नेवाहरुले आफ्नो राज्य बनाएछि केही त पक्कै गर्लान् । बाग्मती बिष्णुमति मा पौडी खेल्न पाईएला कि ? फेरि काँठहरुले बाग्मतीलाई शिवपुरी तिरै रोक्ने पो हुन कि ? मलाई यो काँठेहरुको कार्यक्रम पनि मन परेन् । यो सब आरिसे काम मात्रै हो ।

अब त मलाई नेवाहरुले खे र बाजे अनि अरु जनजातिले बाउन् र नाकचुच्चे अनि मधेशीहरुले बभना र पण्डित् भनेर हेप्न पनि पाईदैन् । अल्पमतको बिशेषाधिकार प्रयोग गरेर मुद्दा हाल्दिन्छु म त फेरि । लाखौं को जरिवाना तिराउन लाउँला फेरि । तेसैले म त आफुलाई फाईदै फाईदा देख्छु जातिय गणराज्य हुँदा । त्यै नेता बनेका बाहुन छेत्रीलाई घाटा हुने होला अब उनेरुको रजाईं नचल्ने भो । तेसमा त झन खुच्चिंग । यो गाईको मासु खाने बाहुन नेताहरुले गर्दा मलाई बाहुन भन्नै लाज हुन्थ्यो । अब त गर्वसाथ भन्न पाईनेभो ।

अब केही सिरीयस कुराहरु गरम् होला । माओवादीले गणराज्यको घोषणा गरेपछि ठुलो बहस चलेको छ । घोषित गणराज्यमा जो अल्पमतमा छन् र खासगरी जो केन्दीय सरकारको संरक्षणबाट टाढा छन् उनीहरुलाई चिन्ता हुनु स्वभाविक पनि हो । किनभने बिगतमा भएका मधेशी पहाडी विवादले देखाईसकेको छ कि जातीय र क्षेत्रीय समस्या अत्यन्त संवेदनशील विषय हो ।

हुन त माओवादीका नेताहरुले भनिरहेकै छन् कि यो प्रचारात्मक अभियान हो र अन्तिम छिनोफानो संबिधान सभा बाटै हुनेछ । तर पनि सत्ता पक्ष गैर माओवादी र विपक्षी माओवादी एक राउन्ड लडाई गरेरै हेर्ने मनस्थितिमा जस्तो देखिएकाले जातीय राजनीतिक संवेदनशीलताले वास्तवमै अपठेरो ल्याउनसक्छ । मलाई के लाग्छ भने माओवादी भित्रका पनि सम्बन्धित जातिय र क्षेत्रीय नेताहरुले अल्पमतको संरक्षण र उनीहरुको चिन्ता निवारण तर्फ राजनीतिक कार्यक्रम, भाषण र छलफलमा सकृय भएर लाग्नुपर्छ ।

माओवादीले गरेको गणराज्य घोषणाप्रति कतिपय जनजाति संगठनहरु नै पनि सशंकित छन् । तेसो हुनु पनि स्वभाविक नै हो । हरेक जातिय संगठनहरुले सकेसम्म ठुलो राज्य चाहने, आफ्नै राज्य चाहने र गणराज्यको घोषणा पनि आफै गर्न चाहने भएकोले पनि आशंका भएको हुनुपर्छ । तेसमाथि जातिय गणराज्यबाट तनाव उत्पन्न हुनसक्ने तर्फ बाहुन क्षेत्री मात्रै चिन्तित भएका छैनन् । जनजाति भित्रका पनि अल्पमत जनजातिहरु पनि छन् । दलित समुदाय पनि छन् । मधेशीहरु भित्र पनि विभिन्न जातिय समस्या छन् ।

तर पनि माओवादीले जातिय मुद्दा पनि उठाएकोले उसले एकपटक जातिय प्रयोग त गर्नुपर्ने नै थियो । तेसमाथि माओवादीले बिभाजन गरेकै जातिय गणराज्य नै हुनुपर्छ त उनेरुले पनि भन्न सकेका त छैनन् । उनेरु पनि अन्तिम छिनोफानो संविधानसभाले गर्ने भनिरहेका छन् । यो उनेरुको सत्ता पक्षसंगको लडाईंमा कांग्रेस एमाले ले धेरै पेले भने वा स्ंविधानसभा नै भंग गराए भने समानान्तर सत्ता चलाउने रणनीति जस्तो पनि देखिन्छ ।

12 comments:

  1. हावा ब्रोको कुराले अलिकति सन्तोष गर्ने ठाउँ पाएँ मैले पनि। मलाई पनि चाहिएन राज्य साज्य, अल्पमतको विशेषाधिकार भए पुग्यो ;)

    तर एउटा अनुरोध पनि छ है हावा ब्रोलाई। तपाईंको ब्लगमा छिर्दाको मज्जा नै भिन्दै छ तर आजभोलि एकोहोरो पुल्टिसको गफले मोनोटोनस बनाइसक्यो। बीच-बीचमा यसो अरु सामाजिक बिषयमा पनि लेख्दै गर्नोस् न ब्रो।

    ReplyDelete
  2. जम्मैं पढ़ें र जम्मैं बूझें। यो लेखले नेपालको हाल-खबर था भयो। धेरै रमाइलो संग लेख्नु हुंछ बधाई।

    ReplyDelete
  3. घोषणा ठीक हो भनेर दावी गर्ने पनि बाहुन क्षेत्री अनि घोषणा धोखा हो भनेर आरोप लाउने पनि बाहुन क्षेत्री ।

    के गर्नु सबै बाहुन क्षेत्री नै यस्ता पदमा पुग्नका लागि जे पनि बोलिदिने अनि जे पनि गरिदिने | तर मा चाही त्यसो गर्दिन ल ब्रो हा हा हा हा हा हा हा हा हा ................

    ReplyDelete
  4. हावाजी,

    शीर्षक चित्त बुझेन है । यो जातीय राजनीति होइन, आदिवासी-जनजातिहरूका पक्षमा गरिएको राजनीति हो ।

    हुन त यो आदिवासी-जनजातिको परिकल्पनाकारहरू पनि 'खे' (श्री ३ र ५ पक्षधर क्षेत्री तथा 'प्रजातन्त्र पक्षधर बाहुन') हरू नै हुन् । यसअर्थमा मलाई यी शब्दहरूप्रति नै घृणा लाग्छ । तर यसलाई स्वीकार गरिसकेको र यसले कानून र स‍वैधानिक मान्यता पाइसकेको अवस्थामा यी शब्दहरूका पक्षमा 'राजनीति' गरिनु अनौठो र अस्वभाविक मान्नुहुन्न । फलामले नै फलाम काट्छ ।

    ReplyDelete
  5. ध्रुब ब्रो, बाउबाजे ले धेर बाठो भएर धेर मोज गरेकाले अब हाम्ले संतोष गर्नैपर्यो कि कसो ?

    अनि ब्रो, अशेस ब्रो ले पनि धेरै राजनीति भो भन्नु भाको त हो.. तर के भने अहिले को नेपाल मा राजनीति नाछिरेको कुनै कुरै छैन जस्तो लाग्छ.. तपैले भन्नुभाको सामाजिक बिसयमा पनि..

    अनि ब्रो आफुलाई जे मा रुची लाग्छ तेसमै ब्लग गर्दा नै रमाइलो हुन्छ जस्तो लाग्छ मलाइ त.. जहासम्म मोनोटोनस वा एकाहोरोपना को कुरा छ तेसको पनि उपाय छ.. के भने आफुलाई फुर्सत भाको बेलामा मात्रै ब्लग हेर्ने र कमेन्ट गर्ने गर्नुपर्छ..

    ब्लग हेर्ने र कमेन्ट गर्ने पनि देश बिकास गर्ने भने जस्तै मन नलागी नलागी गर्नुपर्ने दायित्व को रुप मा मात्र गर्यो भने बोर हुन्छ..

    अनि ब्रो ले भनेको सामाजिक बिसय के होला कोनी.. लड़की को बारेमा त हैन ? ;)

    देवेन्द्र जी, तपाई त 'हाम्रो' राजनीतिक र संस्कृतिक केन्द्र बनारस को बासिन्दा पो हुनुहुदो रहेछ.. छिमेकि देशको बासिन्दा भएर पनि नेपाली ब्लग मा चासो राख्नुभएको मा आभार.. तपाइको बेचैन आत्मा ब्लग पनि हेरियो निकै रमाइलो रहेछ..तपाइले पनि नेपालि कविहरुले झैँ पोखरा को फेवाताल बारे कविता लेख्नुभाको देखेर खुसि पनि लाग्यो.. तपाइको लिंग भेद कबिता बिसेस रमाइलो लाग्यो

    पुष्प जी, धन्यबाद चित्त नबुझेको कुरा नलुकाई भन्नुभाको मा

    मैले पनि जातीय राजनीतिलाई सकारात्मक अर्थ मै बुझ्न चाहेको हो.. तर जुन कुरा को पनि सकारात्मक र नकारात्मक पक्षहरु हुन्छन..हामीले कुन पक्षलाइ कसरि प्रयोग गरछौ तेसमा भर पर्छ जस्तो मलाइ लाग्छ

    आदिवासी जनजाति र तिनका संस्कृति को पुनर्जागरण हुनु भनेको नै नेपाल बलियो हुनु हो भन्ने मेरो पनि बुझाइ छ

    ReplyDelete
  6. हा हा हा....यो मेरो कमेन्टचैँ हावाब्रो को लास्टको कमेन्टमा है वरू यसले चैँ अलि चित्त बुझ्यो । हो नि मन नलागी नलागी नि के कमेन्ट गर्नु र भन्या । जसो गरे नि घुमाई फिराई त्यहि कुरो ।

    ReplyDelete
  7. हो नि अशेष ब्रो... लाखौ ब्लगहरु प्रत्येक दिन लेखिन्छन तेसो भन्दैमा सबै ब्लग पढन थालियो र सबैमा कमेन्ट गर्न थालियो भने त दिमागै पंचट् हुन्छ...तर चित्त नबुझेको कुरा चाहि भन्नुपर्छ ;)

    नेपालीको अवाज ब्रो, अब हाम्ले नेताले जस्तो नगरे अब यै ब्लग गरेर बस्नुपर्ने भो ह ह ह हा ह ह हा हा हा हा हा हाः

    ReplyDelete
  8. हावा ब्रो को ब्लगसहरु समय समयमा पढ्ने गर्छु ! रमाइलो लाग्छ !
    अब यो जातीय राजनीतिको बिषयमाचै गाँठी कुरो चाँही के हो भने जातीय स्वायत्तता जनजाती हरुलाई आवश्यक त हो तर सर्वसाधारणलाई यसको सही अर्थ बुझाउनु भन्दा पनि राजनैतीक स्वार्थको लागि आ-आफ्नो ढंगले व्याख्या गर्ने र सोझा साझालाई प्रयोग गर्ने होड्बाजी छ ! खै के भन्नु? राजनैतीक गिरोह हरुको यो होड्बाजिमा दुर्घटनामा परी मृत्‍यु वरन गर्ने र घाइते हुनेहरुको लिस्टमा त त्यै सोझा साझा जनता नै त पर्ने हो पछी फेरी क्षतिपुर्तीको नाममा अर्को खेल ! क्रमश......

    ReplyDelete
  9. धन्यबाद अनुभव ब्रो, आफ्ना सारगर्भित बिचार राख्नुभएको मा.. हो ब्रो हाम्रो जस्तो देश मा सरकार र राजनीतिक दलहरुको मुख्य भूमिका हुन्छ र त्यो चाहिन्छ पनि.. तर सरकार र राजनीतिक दल संचालन गर्ने नेताहरु पनि हाम्रै समाज का हामीजस्तै मानिस हुन्..

    तेसैले समाज मा देखिने सबै किसिम का सकारात्मक परिवर्तन का चाहनाको साथै लोभी पापी प्रब्बित्तिलाइ पनि राजनीतिक दल र नेताहरुले प्रतिनिधित्व गर्छन.. तेसैगरी राजनीतिक र सामाजिक तरलता को फाइदा उठाएर समाज मा डर वा कन्फुजन फैलाएर समाज बिरोधि र साम्प्रदायिक तत्वहरुले पनि फाइदा उठाउन खोज्छन

    जस्तो जातीय स्वायत्तता को कुरा - नेपाल भित्र का सबै जातजाति को उत्थान हुँदा नेपाल झन् बलियो हुने हो नि.. तर फेरी त्यै कुरालाइ म्यानिपुलेट गरेर मानिसहरुले जनता जुधाएर आफ्नो दुनो सोझ्याउने काम गर्न नपाउन भन्ने तर्फ हाम्ले सचेत हुनुपर्छ

    ReplyDelete
  10. जातियताको कुरा गर्दैमा र जातिय स्वायत्त राज्य घोषणा गर्दैमा कुनै पनि जातिले मुक्ती पाइहाल्दैन। हो थिचोमिचो सहेका हुन् , छन् र ... पनि समाधान नै हुन्छ भन्नेमा बिस्वस्त हुने ठाउँ छैन । बाहुनहरु पनि आफ्नो जातिय राज्य घोषणा गर्न छुट छ र गरेका समाचारहरु पनि मिडियामा आउँदैछन तर हरिबंसको हास्यब्यंग्य रुपमा। तुत्सी र हुतुहरुको देश नबनोस नेपाल, सबै नेपालीको देश बन्न सकोस सर्बसाधारण नेपालीको चाहना पनि यही नै हो । थिचिएका जातिले मुक्तिको लागि संघर्ष जरुरी छ तर देशै बिखन्दन हुने तरिकाले होइन, सबै बराबरी फुल्ने मौका पाउनु पर्दछ। सबै फुल्ने अधिकारको सुनिस्चित गर्ने बाटो खोज्नु आजका नेताहरुको खाचो हो न कि बल्ड्याङ्रे पारा देखाउनु । जातिय स्वायत राज्य घोषणा गर्नु कुनै मजाक होइन यसले निम्ट्याउने भयाबह परिणाम प्रती बेलैमा सजग हुनु पर्दछ। नाफा र घाटाको कारोबार गर्ने ब्यवसाय होइन जातियताको राजनीति। कुनै पनि दिन जातियताको खाडलमा पुरिएर आफ्नै सहोदर छिमेकी भाई(अरु कुनै जात)को घाटी निमोठ्न विवस हुन नपरोस। चेतना भया हावा ब्रो ...

    ReplyDelete
  11. सबै लै राज्य, तर नेपाल का एकमात्र सच्चा आदिबासी , ने मुनि का सन्तान , नेपाल एकीकरण कर्ता खस (बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित ) हरुलाई राज्य खोइ??
    खस हरुको आदिभूमि कर्णाली र सुदुर्पचिम लै किन खसान नभनिकन कर्णाली र खप्तड वा सेती महाकाली भनेको ??? एमाले र माओबादी ले बनाएको बहु संस्कृतिक राज्य मा ९५% खस हरुको जनसंख्या छ...तेस्लाई किन छेत्रिये राज्य/ यिलाका नि???. तेस्लाई पनि खसान (पूर्वी, पश्चिम)नामकरण गर!!!!! खस हरुलाई बाहुन, छेत्री, ठकुरी, सन्यासी, दलित अनि अरु जाति मा बाडेर टुक्र्याएर खस हरुलाई अल्पमत मा देखाउने दुष्प्रयाश नगर!!!!!!!!! तीसौ जाति भएको नेवार समुदाय लै चाही जाति भनेर राज्य बाड्ने तर खस हरुलाई चाही टुक्र्याउने??? आप्रबासी हरुलाई समेत राज्य बाड्न सक्ने, तर आदिबासी खस हरुलाई राज्य नबाड़ने, हे माओबादी र एमाले.....याद राख .... नेपाल को लगवग ५०% जनसंख्या भएको खस हरुलाई चित्त दुखाएर कसैले जातिय राज्येको कल्पना गर्छ भने त्यो मुर्खता मात्र हो !!!!!!!

    ReplyDelete
  12. लेकाली ब्रो,माओबादी ले राज्य घोसणा गरेर गल्ति गर्यो भनुम भने उसले नगरे पनि अरु जनजातिहरुले आफै घोसणा गर्ने निर्णय गरेकै हुन्.. अब नेपाल मा मात्र नभएर सन्सार भरि नै जातीय राजनीतिको हावा चलेको रहेछ..अब देश कस्तो बनाउने भन्ने तपाई जनजातिहरु कै हातमा छ... मेरो भन्नु केहि छैन... जातीयता को बारेमा सबैले बुझेकै छन्

    अनि ब्रो धन्यबाद तपाइको उदारताको लागि... तपाइले त बाहुन छेत्री ले पनि राज्य माग गर्न पाउनुपर्छ भन्नुभयो तर मलाइ चाहिएन छुट्टै राज्य...अब मलाइ नै मुख्य मन्त्रि बनाउछन भने त म पनि समर्थन गरुला नत्र किन चाहियो राज्य ? ;)


    दिनेश ब्रो, आफु त नेवा राज्य को काठमान्डू मै बसिन्छ... तेसैले मेरो चाहि अल्पमत को बिशेसाधिकार बाहेक अरु कुनै माग छैन ;)

    DECEMBER 30, 2009 2:48 PM

    ReplyDelete