Tuesday, January 5, 2010

नेपालीहरुलाई कसले लडाईरहेको छ ?

म फेरि पनि भन्छु, यहाँ एउटा उचाल्ने कोशिश के हुन्छ भने मदेशमा पहाडी र मधेशीको झगडा गराइदिने । म पहाडिया रे । मेरो परिवार ७२ वर्ष भयो विराटनगरमा बसेको । विराटनगरको स्थापना मेरो पिताजीले गरेको हो । त्यहाँको मन्दिर मेरो पिताजीले बनाउनु भएको हो । म त्यहाँको, विराटनगरको प्रवक्ता हुन सक्दिन रे । दशवर्ष अघि पूर्णियाबाट आएको हिन्दुस्तानीले नागरिकता लियो, त्यो त्यहाँको प्रवक्ता हुन पाउँछ रे । म हुन पाउँदिन । त्यस्तो प्रचार यहाँ चलिरहेको छ पर्वते र मदिसे भनेर ।

अहिले तराईको उपेक्षा भयो भन्नेहरु यता दश बीस वर्षमा नागरिक भएर आएका छन्, तिनीहरुले उठाएको प्रश्न हो । तराईमा ट्याक्टर जीप र कहीं कहीं त हात्ती नभएको कुनै गाउँ छैन, तर पहाडमा त्यस क्षमताको लखपति भन्ने मानिस शायद विरलै होलान् । तराईमा भोकभोकै कुनै मानिसले बस्नुपरेको छैन, पहाडमा कुनै मान्छेले लाहुर गएनन् भने भोकभोकै बस्नुपर्छ ।

तर, तराईभित्र मैले एउटा अर्को कुरा देखें। त्यो म पर्वतेहरुलाई भन्न खोजिरहेको छु । त्यहाँ यत्रो ठुलो राष्ट्रियताको भावना छ मलाई व्यक्तिगत अनुभव पनि छ, र मैले आफ्नो अध्ययन् पनि गरेको छु । तपाई कुनै मदिसेलाई बाहिर गएर जागिर खाएर उतै घरजम गरेर बसेको देख्नुभएको छ ? म हजारवटा पर्वतेलाई देखाइदिन सक्दछु । त्यस्तो कोशिश गरिरहेको छ कि म ग्रीनकार्ड पाऊँ र अमेरिकामा गएर बसौं भनेर ।

एउटा तराईवासी मधेशीको मसंग भेट पर्यो न्युयोर्क हस्पीटलमा । मैले तपाईं को हो भन्दा वल्र्ड बैंक मा काम गर्छु भन्यो । त्यहाँ धेरै छन् नेपालका ऊ भन्दा धेरै कमाउने । डाक्टरहरु छन् । उनीहरुले मलाई मद्दत गरेका छन् । तर एकमुष्ट उसले दशहजारको चेक दियो, त्यति त के, हजारको चेक पनि कसैले दिएको छैन ।

मैले उसलाई भने, यो दशहजार डलरको चेक ? तिमीसंग कति रुपैयाँ छ ? उसले भन्यो दशहजार तीनसय डलर मसंग छ । उसले सातवर्षमा कमाएर बचाएको सबै रकम मलाई दियो । मैले यति चाहिदैन पछि लिउला भन्दा उसले भन्यो तपाईंको काममा मेरो रुपैया काम लागेन भने मेरो रुपैयाको के मूल्य ?

त्यो मान्छे वर्खामा यहाँ नेपाल आएको थियो । आएर मलाई के भन्यो भने मलाई जहिले पनि २४ घण्टा गाउँको सम्झना आउँछ । मलाई भैसीको सम्झना आउँछ, भैसीमा चढेको सम्झना आउँछ, गुल्ली डण्डा खेलेको सम्झना आउँछ, पोखरी मा नुहाएको सम्झना आउँछ । म राति सुत्दा सपना देख्छु । दिउँसोमा पनि त्यै सम्झन्छु ।

त्यसो हुनाले म गाउँ नगई भएन भनेर म ऐले गाउँ आएँ । वर्खा थियो । वर्खामा जान बाटो थिएन । म यै सुट लगाएर हेलेरै पुगें तिन माइल । मैले त्यहाँ केही गर्न सकेको छैन् । मैले मनमा सोचें, कति राष्ट्रियताको भावना छ यो मान्छेमा । तपाईहरु मध्ये कतिले भन्न सक्नुहुन्छ उसले भनेको जति ?

अब नेवारहरुको कुरा गरौं । तपाईले नेवार देखाउनुस्, जो दौडादौड गरेर बाहिर बस्न खोज्छ, काठमाण्डौ छोडेर । छन् कोई ? विदेशमा पैसा कमाए पनि यही बिहा गर्न आउँछन्, त्यै गलि फोहोर मैला भएको ठाउँमा नै घर किन्छन्, यहीं बस्छन् । एउटा यत्रो ममता छ आफ्नो देशका प्रति उनीहरुमा । उनीहरुको कला र इतिहासले नै बाहिरियालाई नेपाल चिनाउँछ ।

वास्तविकता के छ भने राष्ट्रियताको एउटा व्यापक आधार यस देशमा कायम छ । हामीहरुको कोशिश के हुनुपर्दछ भने यत्रो ठुलो राष्ट्रियताको संचिति छ, त्यो संचितिलाई हामी समातौं, त्यहासम्म हामी पुगौं । बाहिरबाट हामीहरुलाई धमिल्याउने जुन कोशिश भइरहेको छ, बिदेशी प्रभावबाट, त्यसबाट हामी बच्ने कोशिश गरौं । राष्ट्रियताको यत्रो धरातल छ, यत्रो ठुलो आधार छ राष्ट्रियताको त्यसबारे कसैले बोल्दैन् ।

यहाँ केवल झुठा कुराहरु मात्रै फैलाइन्छन् । त्यसो हुनाले, मैले भने नि, तपाई मलाई एउटा राष्ट्रवादी अखबार देखाउनुस्, म च्यालेन्ज गर्दछु तपाईंलाई र तपाई मलाई च्यालेन्ज गर्नुहुन्छ भने म प्रत्येक अखबारको पृष्ठभुमि बताउँछु र कुन विदेशीबाट सन्चालित कुन अखबार म भनिदिन्छु ।

(साभार राष्ट्रियताको आधार वि पी कोईराला सन् १९८१ (आशिंक संकलन्)

8 comments:

  1. हावा ब्रोलाई धन्यबाद बि पी को विचार अलिक पूरा रुपमा पढ्ने मौका दिएकोमा। टुक्रा-टाक्रीमात्रै पढिएको थियो पहिला।

    बि पी को विचार आज झन् सान्दर्भिक र समसामयिक बनिरहेको छ।

    ReplyDelete
  2. धन्यबाद बसन्त ब्रो, यो पनि टुक्रा टाक्री नै हो..सान्दर्भिक होला जस्तो लागेर यहा राखेको

    ReplyDelete
  3. यस्तै रहेछ यहाँको चलन ...

    के गर्नु त ब्रो प्रचण्डले अस्तिन शक्तिखोरको भिडिओमा भने जस्तै नेपाली जनता साच्चै भेडा नै हौँ नत्र भाई फुटे गवार लुटे भन्ने किन बुझीरहेका छैनन् तमाम नेपाली जनता ??

    ReplyDelete
  4. हावाजीको लेखनशैली आज किन परिवर्तन भो भन्ठानेको त वीपीको कुरापो लेख्नुभएको रहेछ ।

    साँच्चै वीपीका यी कुरा अझै पनि सान्दर्भिक छन् । केही वर्षअघि पाइखाना जान्छु भनेर लोटा लिएर नेपाल छिरेका नाथे भारतीयहरू पक्का मधेशी(?) हुने, हामी उतै जन्मे-हर्के-पढे-लेखेकाहरूचाहिँ पहाडिया रे ! हैन मधेशको वास्तविक अर्थ के हो ? के बिहारीहरूलाई मधेशी भनिने हो वा तराईको मधेश क्षेत्रमा बसोबास गर्नेहरूलाई ? हुन त केही बुज्रुकहरू नेपालमा मधेश भन्ने क्षेत्र नै छैन भन्छन् । तर मैले जानेसम्म त मलाई पहाडमा बस्नेहरूले मधेशी भन्ने गरेका थिए र मैले पनि आफूलाई मधेशी हुँ भन्नुमा कुनै संकोच मान्दिनथिएँ । तर वीपीले भनेझैं आज हामी नेपालीहरूबीच मात्र होइन मधेशी-मधेशी(?), पहाडिया-पहाडिया(?)बीच नै लडाउनु काम भइरहेको छ । त्यसैकारण मैले मधेशी, पहाडिया आदि शब्दका पछाडि प्रश्नवाचक चिन्ह लगाउने गरेको हुँ ।

    अनि वीपीले समाचारपत्रहरूका बारेमा उठाएको प्रश्न पनि जायज छ । साँच्चिकै भन्ने हो भने राष्ट्रवादी पत्रिका छैनन् भन्दा पनि फरक पर्दैन । उनीहरूका लागि चाहिने दानापानीरूपी विज्ञापन सबै उतैबाट आउने भएकैले पनि हो कि ! विडम्बना भन्नुपर्छ, विज्ञापन दिनलायक नेपाली उद्योगहरू डुबाउनेहरूमा वीपीकै भ्रष्ट अनुयायीहरू पर्छन् ।

    ReplyDelete
  5. करिब तीन दशक अगाडीको प्रसंग आज पनि उस्तै सान्दर्भिक देखिएको छ यहाँ, आफु आफु लड्ने, भाई फुट्ने र गवार लुटाउने परम्परा हाम्रो धेरै पुरानो रहेछ क्यारे ..... ।

    ReplyDelete
  6. नेपाली को जनता ब्रो, प्रचण्ड ले भेडा भनेका छन् र ? उनि त महान नेपालि जनता भन्ने गर्छन.. बरु म चाहि भन्छु, खासगरी पढेलेखेका स्वाठ भेडाहरूलाई

    कृष्ण ब्रो, नेपालीहरु आपसमा लड्नु मा बिदेशी तत्वको स्वार्थ छ भन्ने हामीले बुझ्नु आवस्यक छ

    पुस्प जी, राजनीतिक अर्थमा जे भने पनि सामाजिक अर्थमा नेपालमा मधेशी भन्नाले नेपालका समथर भुभागका मानिसहरु जो राष्टियताको दृष्टिकोणले नेपाली नागरिक हुन् तर जसको सास्कृतिक स्वरुप उत्तरी भारत खासगरी बिहार युपी संग मिल्दछ भन्ने अर्थमा बुझिन्छ जस्तो लाग्छ । अहिले बिहार र यु पी भए पनि सुगौली सन्धि अघि हालका उत्तरी भारत् का धेरै भूभाग नेपाल कै थियो तेसैले एकै भूभाग का मानिसहरु बीच संस्कृतिक समानता हुने नै भो

    पहाडबाट मधेश मा बसाई सरेकाहरुलाई सास्कृतिक भिन्नताले गर्दा मधेशीहरुले पहाडिया भन्ने गर्दथे भने पहाडका बासिन्दाहरुले मधेशमा बस्ने आदिवासी जनजाति लगायत् सबैलाई मधेशी भन्दथे । तर अब हरेक पहिचान को राजनीतिक व्याख्या पनि गर्नुपर्नेभएको ले तपाईको प्रश्नवाचक चिन्ह पनि जायज नै छ ।

    अर्को कुरा, बि पीले नै भनेका कतिपय कुराहरु खासगरी नेपालको राजनैतिक र शासकिय व्यवस्थाबारे बि पीको विचारसंग हामी सहमत नहुन पनि सक्छौ, कतिपय कुराहरु तत्कालिन परिस्थितिजन्य हुन्छन् । जस्तो कि उनी तत्कालिन शीत युद्धकालिन विश्व परिस्थितिमा नेपालको अस्तित्व लागि पनि राजतन्त्र आवश्यक ठान्दथे ।

    तर उनको बिचारहरु पढदा उनी एक ईमान्दार नेता थिए भन्ने देखिन्छ, खासगरी नेपाल भारत बीचको राजनीतिक सम्बन्ध र बैदेशिक नीतिबारे उनको बिचार अध्ययन् गरेमा धेरै कुराहरु थाहा हुने रछ । मैले यहाँ माथि प्रस्तुत गरेको उनको बिचारको अंश राजनीतिक भन्दा पनि नेपालीहरु बीचको सामाजिक सम्बन्धबारे मलाई रोचक लागेको कुरा हुन् । मलाई रोचक लागेको अर्को कुरा तपाईले पनि नोट गर्नु भएछ नेपालका मिडिया हाउसका पृष्ठभुमि बारे ।

    तर तपाईले बिपीको अनुयायी भनेर कांग्रेसीहरुलाई भन्नुभाको होला । मलाई चाहि काग्रेसीहरु बिपी को अनुयायी हुन भन्नु र एमालेहरु माक्र्सका अनुयायी हुन भन्नु उस्तै लाग्छ ।

    बिपी का कतिपय कुराहरु त मलाई अहिलेको माओवादीले राखेको कुरा जस्तो पनि लाग्छ । जस्तो कि जेल जर्नल मा लेखिएका सेनाको पुर्नगठन सम्बन्धी बिपीको धारणाहरु हेर्नृस्:

    *सेनाको अफिसर दलका लागि निम्न मध्यवर्ग र प्रजातन्त्र पक्षीय परिवारबाट मात्र अफिसरहरुका चुनाव र तिनीहरुको शिक्षण हुनुपर्छ । आजकाल अफिसर कोर अप्रजातान्त्रिक परिवारहरुका व्यक्तिहरुले निर्मित भएको छ । बाहिरियालाई घुस्न दिदैनन् । म प्रधानमन्त्री छँदा १।२ जना बाहिरिया लाई चुनाउन खोज्दा बडो बिरोध भएको थियो सेनाका उच्च पदाधिकारीहरुको चुनाव बोर्डव्दारा ।

    *सेनालाई (overarmed)अतिशय शस्त्र अस्त्र सुसज्जित पार्नुहुन्न ।

    *आमजनतालाई अमेरिकाको जस्तो बिना लाइसेन्स हतियार राख्ने अधिकार हुनुपर्छ । बिशेष किसिमका सामरिक हतियार बाहेक । व्यक्ति विशेषलाई कानुनबाट मात्र यो अधिकारबाट सरकार वंचित पार्न सक्छ अर्थात चोर, डाँकु र गुण्डाहरुलाई यो अधिकार दिनुहुन्न ।

    *सेनालाई नै खारेज गर्नुपर्छ ।

    *सबै वयस्क नागरिकलाई सैनिक तालिम दिनुपर्छ जुन व्यक्तिहरुलाई समयमा सेनामा परिणत गर्न सकियोस् । (इजराइल र क्यानडा, स्विट्जरलैण्ड इत्यादि)

    ReplyDelete
  7. मलाइ पनि सेना सम्बन्धि वि पि का धारणा भने माओवादीले लागु गर्न खोजेका हुन् जस्तो लाग्यो है हावा जी । अनि यस लेखको अन्तिममा दिएको च्यालेन्जप्रति मेरो अहिले पनि पूर्ण समर्थन छ ।

    ReplyDelete
  8. विचारणीय लेख हावा जी। सकारात्मक शैलीमा अगाडी बढेको आभास भयो । हामी मात्रै एक हुनु पर्छ देश शिखरमा पुग्छ।

    ReplyDelete